२९ ‌‍‍‍‍‌‌‌औँ अधिवक्ता तहकोलागि निर्धारित नजिरहरु नि‍र्णय न. १०२४६

 निर्णय नं. १०२४६ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: 

 फैसला मिति :२०७५/०३/०६  

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७५।३।६

०७२-CR-०२०५

 

मुद्दा:- कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : जिल्ला झापा दमक न.पा. वडा नं. १३ बस्ने धर्मप्रसाद घिमिरेको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ डागीहाट गा.वि.स. वडा नं. ४ भाउने चौक बस्ने विष्‍णु याख्खा (राई) भन्‍ने विष्‍णुकुमार याख्खा राईसमेत

 टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई अनुमानको आधारमा फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न नसक्ने । 

घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव्यक्त गरिदिएको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने ।

(प्रकरण नं.१६)

 पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दुर्गा खड्का

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री इन्द्रबहादुर कार्की

मोरङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेल

पुनरावेदन अदालत विराटनगर 

रायबाझी फैसला गर्ने :-

माननीय न्यायाधीश श्री कुमार चुडाल

माननीय न्यायाधीश श्री अग्नीप्रसाद थपलिया

पुनरावेदन अदालत विराटनगर 

 

फैसला

न्या.तेजबहादुर के.सी.: नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । 

सुरूको जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, घटना विवरण कागज, बुझिएका व्यक्तिहरूले गरेको कागज, अभियोगपत्र, प्रतिवादीहरूको बयान, मोरङ जिल्ला अदालतको फैसला, वादी तथा प्रतिवादी दुवैतर्फबाट पुनरावेदन अदालत विराटनगरमा पेस भएको पुनरावेदन तथा पुनरावेदन अदालत विराटनगरले गरेको फैसलासमेतको बेहोरा उक्त अदालतले गरेको मिति २०७१।०१।२८।०१ को राय बाझी फैसला र मिति २०७१।०७।२३ को तेस्रो न्यायाधीशको फैसलाबाट देखिने हुँदा यहाँ पुनरावृत्ति गरिएको छैन ।

यस अदालतको निर्णय 

पुनरावेदक वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री दुर्गा खड्काले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा मिति २०६२।११।१८ गते प्रतिवादीहरूले धारिलो हतियार खुकुरीसमेत प्रहार गरी भुपेन्द्र घिमिरेको कर्तव्य गरी मारेको देखिँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा सुरू मोरङ जिल्ला अदालतले प्रतिवादी विष्णुकुमार याख्खाले मृतकलाई कर्तव्य गरी मारेकोमा साबित रहेको, इन्कारी बयान निजको साक्षी प्रमाणबाट पुष्टि नभएको, वारदातमा यी प्रतिवादी सामेल भई हतियार छाडेको भनी सनाखत गरी कागजसमेत गरेकोबाट यी प्रतिवादीले कसुर अपराध गरेको देखिएकोले निज प्रतिवादी विष्णुकुमार याख्खा राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्‍याई मिति २०६९।६।२ मा र प्रतिवादीहरू कृष्णकुमार याख्खा, दिपेन्द्र भन्‍ने भुपाल तामाङ र दुर्गा लिम्बू वारदातमा संलग्न भई वारदात भएको भन्‍ने वादी पक्षबाट पुष्टि गर्न सकेको नदेखिँदा आरोपित कसुर अपराधमा यी प्रतिवादीहरूले सफाइ पाउने ठहर्‍याई मिति २०७०।१।२४ मा दुई छुट्टाछुट्टै फैसला गरेको   देखिन्छ ।

सुरू मोरङ जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझाई प्रतिवादी विष्णुकुमार याख्खा राईको तर्फबाट आफूले आरोपित कसुर नगरेकोले अभियोग मागदाबीबाट सफाइ पाउँ भनी र नेपाल सरकारतर्फबाट प्रतिवादी विष्णुकुमार याख्खा राईलाई सर्वस्वसहित जन्मकैदको सजाय हुनुपर्नेमा जन्मकैदको सजाय गरेको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निजलाई अभियोग मागदाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरिपाउँ भनी पुनरावेदन अदालत विराटनगरमा दोहोरो पुनरावेदन परेको देखिन्छ भने प्रतिवादी कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको सुरू मोरङ जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकार तर्फबाट निज प्रतिवादीहरूलाई समेत अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी पुनरावेदन अदालत विराटनगरमा छुट्टै पुनरावेदन परेको देखिन्छ ।

उपर्युक्त वादी प्रतिवादी दुवैतर्फबाट परेको पुनरावेदन पुनरावेदन अदालत विराटनगरमा पेस हुँदा प्रतिवादीहरू नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला सदर हुने र प्रतिवादी विष्णु याख्खा भन्‍ने विष्णुकुमार याख्खा राईको हकमा जन्मकैदको सजाय हुने ठहर गरेको सुरू फैसला सदर हुने राय व्यक्त गरी माननीय न्यायाधीश श्री अग्निप्रसाद थपलियाले र सुरूको फैसला उल्टी गरी प्रतिवादी विष्णुकुमार याख्खा राईले अभियोग मागदाबीबाट सफाइ पाउने राय व्यक्त गरी माननीय न्यायाधीश श्री कुमार चुडालले राय बाझी फैसला गरेकोले तेस्रो माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेलको इजलासमा पेस हुँदा प्रतिवादी विष्णुकुमार याख्खा राईलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको माननीय न्यायाधीश कुमार चुडालले व्यक्त गरेको राय सदर हुने ठहर्‍याई फैसला भएको देखिन्छ ।

पुनरावेदन अदालत विराटनगरको उक्त फैसलासमेतमा चित्त नबुझाई वादी नेपाल सरकारका तर्फबाट किटानी जाहेरी दरखास्त, प्रतिवादी विष्णुकुमार याख्खा राईले आरोपित कसुरमा साबित रही अन्य प्रतिवादीहरूसमेतलाई पोल गरी अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान, प्रत्यक्षदर्शी घाइते सन्तोष कार्कीले मौकामा गरिदिएको कागज, लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट यी प्रतिवादीहरूको कसुर स्थापित भइरहेको अवस्थामा प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।

अब यसमा पुनरावेदन अदालत विराटनगरले गरेको फैसला मिलेको छ छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले मेरो भतिजो भुपेन्द्र घिमिरेसमेतलाई धारिलो हतियार खुकुरी, लाठीसमेत प्रयोग गरी कुटपिट गरी सख्त घाइते बनाई निजको उपचारको क्रममा मृत्यु भएकोले निज प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्‍ने धर्मप्रसाद घिमिरेको किटानी जाहेरी दरखास्त, वारदात हुँदा मृतकसाथ रहेका घाइते सन्तोष कार्कीको अनुहार र टाउकोमा चोट देखिएको भन्‍ने घाउ जाँच रिपोर्ट, मृतक भुपेन्द्र कार्कीको मृत्युको कारण Due to shock and coma as a result of brain injury and multiple incised wound भन्‍ने शव परीक्षण प्रतिवेदन र मृतक भुपेन्द्र घिमिरेको दाहिने खुट्टाको अगाडि पट्टि कापको भागमा ७ इन्च लामो काटिएको घाउ, टाउकोको बायाँपट्टिको भागमा रातो निलो भएको भन्‍ने लास जाँच मुचुल्कासमेतका मिसिल संलग्न कागजातहरूबाट मृतक भुपेन्द्र घिमिरेको मृत्यु सामान्य कालगतिले नभई कर्तव्यबाट भएको देखिन्छ । 

३. अब मृतक भुपेन्द्र घिमिरेको मृत्युमा प्रतिवादी विष्णु याख्खा राई भन्‍ने विष्णुकुमार याख्खा राईको संलग्नता छ छैन ? भन्‍ने सम्बन्धमा विचार गर्दा, यी प्रतिवादीले अधिकारप्राप्‍त अधिकारीसमक्ष बयान गर्दा आफूसमेत भई मृतक भुपेन्द्र घिमिरेलाई धारिलो हतियार खुकुरी तथा लाठीसमेतले कुटपिट गरी घाइते बनाई उपचारको क्रममा निजको मृत्यु भएको हो भनी बयान गरेको भए तापनि निजले अदालतमा उपस्थित भई बयान गर्दा मिति २०६२।११।१८ गते रातको समयमा म कहीँकतै गएको छैन, सो रात म आफ्नै घरमा थिए । मैले भुपेन्द्र घिमिरेसमेतका मान्छेहरूलाई तथा नाम सुनाइएका प्रतिवादीहरूलाई समेत नचिनेको हुँदा उक्त घटना भयो भएन भन्‍नेसमेत मलाई थाहा 

छैन । म निर्दोष छु, मउपरको अभियोग पूर्णत: झुठ्ठा हो भनी कसुरमा पूर्णरूपले इन्कार रही बयान गरेको देखिन्छ ।

४. जाहेरवाला धर्मप्रसाद घिमिरेले पेस गरेको मिति २०६२।११।२३ को जाहेरी दरखास्तमा यी प्रतिवादीसमेत उपर किटानी जाहेरी दिएको 

देखिँदैन । निजले पेस गरेको दोस्रो जाहेरी दरखास्तमा मात्र यी प्रतिवादीसमेतले मृतकलाई धारिलो हतियार खुकुरी, लाठीसमेत प्रहार गरी कुटपिट गरी घाइते बनाई उपचारको क्रममा निजको मृत्यु भएकोले प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भनी किटानी पोल गरेको देखिए तापनि निज जाहेरवालाले अदालतमा उपस्थित भई आफ्ना भनाइहरूलाई पुष्टि गर्न सकेको देखिँदैन ।

५. मृतक भुपेन्द्र घिमिरेसँग घटना हुँदाका बखत एकैसाथ रहेका आफूसमेत घाइते रहेका घटनाका प्रत्यक्षदर्शी सन्तोष कार्कीले यी प्रतिवादी विष्णु याख्खा राईसमेतले मृतक भुपेन्द्र घिमिरे र आफूसमेतलाई बिनाकारण खुकुरी, तरबार लाठीसमेतले कुटपिट गरी सोही चोटको कारण मृतक भुपेन्द्र घिमिरेको मृत्यु भएको हो भनी मौकामा कागज गर्दा लेखाई दिएको देखिन्छ । कुनै कारण नै नभई यी प्रतिवादीसमेतले मृतक र आफूसमेतलाई खुकुरी जस्तो घातक हतियारसमेतले कुटपिट गरेको भन्‍ने निजको भनाइ विश्‍वासयोग्य देखिँदैन भने निजले अदालतमा उपस्थित भई बयान गर्दा वारदातको दिन मेरो दाजु महेश कार्की, मृतक भुपेन्द्र घिमिरे, दिपेन्द्र घिमिरे र सागर भुजेलसमेत ५ जना थियौं । रातिको समय भएकोले कुटपिट हुँदा को-कोसमेत आई कुटपिट गरे थाहा भएन । मानिस चिन्‍न सकिएन । प्रतिवादी विष्णु याख्खासमेतका व्यक्तिहरूको उक्त वारदातमा संलग्नता छैन । निजहरू निर्दोष हुन् भनी आफूले मौकामा गरेको कागजलाई खण्डन हुने गरी बकपत्र गरेको देखिन्छ । वारदातमा रहेका घाइतेसमेत भएका चश्मदिद गवाह यी सन्तोष कार्कीलाई अनुसन्धानको सिलसिलामा वारदातपश्‍चात् तत्काल मौकामा नै कागज नगराई मिति २०६२।११।१८ गतेको घटनाका सम्बन्धमा मिति २०६८।९।२६ गतेमा करिब ६ वर्षपछि कागज गराई अनुसन्धान सुरू गरेको देखिँदा घटना भएको ६ वर्षपछि अनुसन्धान गर्नुपर्ने कारण वादी नेपाल सरकारले खुलाउन सकेको पाइँदैन भने घटना हुँदा मृतकसाथ रहेका अन्य महेश घिमिरेसमेतका व्यक्तिहरूलाई बुझिएकोसमेत पाइएन ।

६. साथै अनुसन्धानको क्रममा कागज गर्ने मृतक भुपेन्द्र घिमिरेका बाबु गुरूप्रसाद घिमिरेले अदालतमा बकपत्र गर्दा छोरालाई आक्रमण गर्ने केटाहरूलाई म चिन्दिन, प्रहरीले नै बताएको आधारमा जाहेरी दिई कारबाही अगाडि बढाएको हो भनी खुलाई दिएको देखिन्छ भने अनुसन्धानको क्रममा प्रहरीमा कागज गर्ने ज्ञानबहादुर भुजेल, रेवन्तबहादुर भुजेल, मेघराज निरौलासमेतले प्रहरीमा भएको कागजको बेहोरा आफ्नो होइन, प्रहरीले लेखी ल्याएको कागजमा सहिछाप गराएको हो । मृतकलाई कसले कुटपिट गरे हामीलाई थाहा छैन भनी आफूले प्रहरीमा गरेको कागजको खण्डन हुने गरी बकपत्र गरेको देखिन्छ ।

७. त्यस्तै प्रतिवादी विष्णु याख्खाका साक्षीहरू शान्ति लिम्बू र रिता धिमालले घटना भएको मिति र समयमा प्रतिवादी विष्णु याख्खा र आफूहरू घरमै थियौं । उक्त घटनामा यी प्रतिवादीको संलग्नता छैन भनी प्रतिवादी विष्णु याख्खाले अदालतमा गरेको इन्कारी बयानलाई समर्थन हुने गरी अदालतमा उपस्थित भई बकपत्र गरिदिएको देखिन्छ ।

८. फौजदारी मुद्दामा कस्तो प्रमाणलाई प्रमाणमा लिन मिल्ने र कस्तो प्रमाणलाई प्रमाणमा लिन नमिल्ने भन्‍ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा १८ ले केही व्यवस्था गरेको देखिन्छ । उक्त दफा १८ हेर्दा, “कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखितमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छभन्‍ने उल्लेख भएको देखिन्छ ।

९. प्रमाण ऐन, २०३१ को उपर्युक्त व्यवस्थालाई विचार गर्दा, अनुसन्धान तहकिकातको सिलसिलामा तयार भएका लिखतमा उल्लेख भएका कुरालाई प्रमाणमा लिन उक्त लिखत गर्ने व्यक्तिले अदालतमा उपस्थित भई उक्त लिखतलाई समर्थन हुने गरी बकपत्र गरेको हुनुपर्ने देखिन्छ । प्रस्तुत मुद्दामा जाहेरवालासहितका अनुसन्धान क्रममा बुझिएका घटनाका प्रत्यक्षदर्शी सन्तोष कार्की, मृतकका बुबा गुरूप्रसाद घिमिरेसमेतले मौकामा कागज गर्दा, यी प्रतिवादी विष्णु याख्खासमेतले मृतकलाई खुकुरीसमेतले प्रहार गरी सोही चोटपिरको कारण निजको मृत्यु भएको हो भनी लेखाई दिए तापनि मौकामा कागज गर्ने प्रत्यक्षदर्शी सन्तोष कार्की, मृतकका बुबा गुरूप्रसाद घिमिरेसमेतले अदालतमा बकपत्र गर्दा प्रहरीमा भएको कागजको बेहोरा हाम्रो नभएको र प्रहरीले लेखेको कागजमा हामीहरूलाई सहिछाप गराएका हुन् । मृतकलाई कसले कुटपिट गरी मार्‍यो हामीहरूलाई थाहा छैन भनी आफूले प्रहरीमा गरेको कागजको बेहोरालाई खण्डन हुने गरी बकपत्र गरेको र जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गरी आफ्नो भनाइलाई पुष्टि गर्न सकेको नदेखिँदा निजहरूले अनुसन्धानको क्रममा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्ने देखिएन ।

१०. त्यस्तै अनुसन्धानको क्रममा प्रहरीमा कागज गर्ने व्यक्तिहरूलाई प्रतिवादीहरूले डर, धाक धम्की दिई, प्रलोभनमा समेत पारी आफ्ना भनाइहरू परिवर्तन गर्न बाध्य पारी विपरीत बकपत्र (Hostile statement) गराएका हुन् कि भन्‍ने सम्बन्धमा समेत अदालत होसियार हुन जरूरी देखिन्छ । तर प्रहरीमा कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई विपरीत बकपत्र गरेको अवस्थामा समेत मिसिल संलग्न प्रमाणहरूकै मूल्याङ्कनबाट नै निष्‍कर्षमा पुग्नुपर्ने 

हुन्छ । प्रहरीमा कागज गर्ने व्यक्तिहरू अदालतमा बकपत्र गर्दा विपरीत बकपत्र गरेको देखिएमा प्रतिवादीलाई कसुरदार ठहर गर्न अन्य प्रमाणहरूबाट निजहरू कसुरदार भएको मालाकार रूपमा पुष्टि भएको हुनुपर्छ । प्रस्तुत मुद्दामा मृतक भुपेन्द्र घिमिरेको मृत्यु कर्तव्यबाट भएको देखिए तापनि निजको मृत्यु यी प्रतिवादी विष्णुकुमार याख्खा राईसमेतका प्रतिवादीहरूको कुटपिटको कारणले भएको भन्‍ने शंकारहित तवरबाट पुष्टि नभएसम्म यी प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न मिल्ने देखिँदैन ।

११. प्रस्तुत मुद्दामा यी प्रतिवादी विष्णुकुमार याख्खा राईले अदालतमा बयान गर्दा, घटना हुँदा म आफ्नै घरमा थिएँ, मैले मृतकलाई कुटपिट गरी मारेको होइन, मैले आरोपित कसुर नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भनी कसुरमा पूर्णरूपले इन्कार रही बयान गरेको, प्रहरीमा कागज गर्ने, घटनाका प्रत्यक्षदर्शी सन्तोष कार्की, मृतकका बाबु ज्ञानबहादुर भुजेल, रेवन्तबहादुर भुजेल, वस्तुस्थिति मुचुल्कामा सहिछाप गर्ने मेघराज निरौलासमेतले अदालतमा उपस्थित भई मृतकलाई कसले कुटपिट गरे आफूहरूलाई थाहा नभएको र यी प्रतिवादीहरू उक्त वारदातमा संलग्न छैनन् भनी आफूले मौकामा गरेको कागजको खण्डन हुने गरी बकपत्र गरेको, जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गरी आफ्नो भनाइलाई पुष्टि गरेको नदेखिएको, प्रहरीमा कागज गर्ने अन्य कोही पनि व्यक्ति अदालतमा उपस्थित भई यी प्रतिवादीले आरोपित कसुर गरेकै हो भनी भन्‍न सकेको नदेखिएको, २०६२ सालमा वारदात भएकोमा २०६८ सालमा आएर अनुसन्धान गर्नुपर्ने चित्त बुझ्दो कारण वादी नेपाल सरकारले खुलाउन नसकेको, अनुसन्धान ढिलो भएको कारण प्रहरीमा कागज गर्ने व्यक्तिहरूको भनाइमा प्रश्‍न चिह्न खडा भएको र यी प्रतिवादी विष्णुकुमार याख्खा राईका साक्षीहरू शान्ति लिम्बू र रिता धिमालले अदालतमा उपस्थित भई घटना भएको समयमा यी प्रतिवादी हामीहरूसँगै घरमै थियौं, निजको उक्त घटनामा संलग्नता छैन भनी यी प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्र गरेको देखिएबाट समेत मिसिल कागज प्रमाणहरूबाट यी प्रतिवादी विष्णुकुमार याख्खा राईसमेतले मृतकलाई खुकुरीसमेत प्रहार गरी कर्तव्य गरी मारेको भन्‍ने आरोपित कसुर पुष्टि भएको देखिएन ।

१२. प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादी पक्षको हुने व्यवस्था गरेको देखिन्छ भने फौजदारी मुद्दामा शंकाको सुविधासमेत अभियुक्तले नै पाउँछ । शंकारहित तवरबाट पुष्टि नभएसम्म कसैलाई पनि कसुरदार ठहर गर्न मिल्दैन । प्रस्तुत मुद्दामा यी प्रतिवादी विष्णुकुमार याख्खा राईले आरोपित कसुर गरेका हुन् भनी वादी नेपाल सरकार तर्फबाट तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि गर्न सकेको नदेखिँदा यी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१३. अब प्रतिवादीहरू नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङको सम्बन्धमा विचार गर्दा, यी प्रतिवादीहरूसमेतलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर देखिन्छ । प्रतिवादी कृष्णकुमार याख्खाले अदालतमा बयान गर्दा मिति २०६२।११।१८ गते म आफ्नै घरमा थिएँ । सो मितिमा मेरो अन्य प्रतिवादीहरूसँग भेटघाट भएन । मैले जाहेरवालाका भतिजासमेतलाई धारिलो हतियार प्रहार गरी कुटपिट गरेको होइन, को कसले कुटपिट गरे मलाई थाहा छैन, सो मितिमा गाउँमा झगडा भयो भन्‍नेसम्म सुनेको हुँ । चरम यातना दिएको विषयमा प्र.स.नि. डम्बरबहुदर थापासँग विवाद भएकोमा सोही इवीले मलाई फसाउन झुठ्ठा बेहोराका कागज तयार गरेको हुनुपर्छ, मैले कसुर अपराध नगरेको हुँदा सफाइ पाउँ भनी लेखाई दिएको देखिन्छ भने निजको साक्षी सुक राई र गुणप्रसाद डोटेलले पनि वारदात समयमा प्रतिवादी कृष्णकुमार याख्खा राईको घरमा जाँदा निजसँग भेटघाट भएको थियो । उक्त वारदातमा निज प्रतिवादीको संलग्नता छैन भनी लेखाई दिएको 

पाइन्छ ।

१४. त्यस्तै अर्का प्रतिवादी दुर्गा लिम्बूले म २०६० सालदेखि नै वैदेशिक रोजगारको खोजीमा काठमाडौंमा बसी आएकोमा मिति २०६२।११।१८ गते म काठमाडौंमा नै थिएँ । मैले जाहेरवालाको भतिजो भुपेन्द्र घिमिरेलाई कुटपिट गरेको, धारिलो हतियार प्रहार गरेकोसमेत होइन, अन्य प्रतिवादीहरूको जाहेरवालाको भतिजोसँग झै-झगडा कुटपिट भयो भएन मलाई थाहा भएन । उक्त वारदात घटनामा म संलग्न छैन, मलाई आरोप लगाई गरिएको सम्पूर्ण कागजको बेहोरा झुठ्ठा हो भनी इन्कारी बयान गरेको पाइन्छ भने निज प्रतिवादीका साक्षी सूर्यमानले निज प्रतिवादी उक्त वारदातको समयमा काठमाडौंमा थिएँ । निजको उक्त वारदातमा संलग्नता छैन भनी इन्कारी बयानलाई समर्थित गरी बकपत्र गरेको पाइन्छ । त्यसैगरी प्रतिवादी दिपेन्द्र र भुपाल तामाङ भन्‍ने खेमबहादुर तामाङले मिति २०६२।११।१८ गते म आफ्नै घरमा थिए । उक्त मितिमा प्रतिवादीहरू कहाँ थिए मलाई थाहा भएन, यी प्रतिवादीहरूलाई चिन्दिन, मैले जाहेरवालाको भतिजोलाई खुकुरी, लाठीले प्रहार गरी घाइते बनाएको होइन, अन्य को-कसले निजलाई कुटपिट गरे मलाई थाहा भएन, म वैदेशिक रोजगारमा २०६३ देखि मलेसियामा गई २०६९ मा फर्की आएको हुँ । तसर्थ सोधिएको घटनाका सम्बन्धमा मलाई केही थाहा छैन भनी इन्कारी बयान दिएको र निजका साक्षी मच्छिन्द्र थापाले उक्त घटना भएका समयमा यी प्रतिवादी निजको घरमै थिए, उक्त घटनामा यी प्रतिवादीको संलग्नता नभएकोले निजले सजाय पाउनुपर्ने होइन भनी इन्कारी बयानलाई समर्थित हुने गरी बकपत्र गरेको पाइन्छ ।

१५. यी प्रतिवादीहरूसमेत उपर पनि सुरू अवस्थामा पहिलो जाहेरी दरखास्तमा किटानी जाहेरी परेको देखिँदैन । मौकामा कागज गर्ने सन्तोष कार्कीले अदालतमा आई बकपत्र गर्दा पनि यी प्रतिवादीहरू पनि उक्त वारदातमा उपस्थित थिएनन्, कुटपिट गर्दा रातिको समय भएकोले को को आई कुटपिट गरे थाहा भएन । मानिस चिन्न सकिएन भनी आफूले मौकामा गरेको कागजको खण्डन हुने गरी बकपत्र गरेको पाइन्छ । घटनास्थल मुचुल्कामा बस्ने मानिसहरू तथा अनुसन्धानको सिलसिलामा बुझिएका मृतकको बाबु गुरूप्रसाद घिमिरेसमेतले यी प्रतिवादीहरूको उक्त वारदातमा संलग्नता नरहेको भनी बकपत्र गरेको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम यी प्रतिवादीहरूसमेत कसुरदार हुन् भनी जाहेरवालासहितको मौकामा प्रहरीमा कागज गर्ने व्यक्तिहरूमध्ये एक जनाले पनि अदालतमा उपस्थित भई यी प्रतिवादीहरू विरूद्ध बकपत्र गर्न सकेको देखिँदैन । २०६२ सालमा भएका घटनाको सम्बन्धमा २०६८ सालमा अनुसन्धान भएको देखिँदा घटना भएको ६ वर्षपछि प्रहरीमा बुझिएका व्यक्तिहरूको भनाइसमेत शंकारहित देखिँदैन । साथै माथि उल्लेख भएअनुसार यी प्रतिवादीहरूले अदालतमा उपस्थित भई आफूहरूले जाहेरवालाको भाइ मृतक भुपेन्द्र घिमिरेलाई खुकुरीसमेतका धारिलो हतियारले कुटपिट गरेको होइन । आफूले आरोपित कसुर गरेको नहुँदा आफूलाई सजाय हुनुपर्ने होइन भनी गरेको इन्कारी बयानलाई यी प्रतिवादीहरूका साक्षीहरूले समर्थन हुने गरी अदालतमा बकपत्र गरेको देखिएबाट यी प्रतिवादीहरूले आरोपित कसुर गरेकै हुन भन्‍न सक्ने अवस्था मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिन आएन ।

१६. प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादी पक्षको हुने व्यवस्थामा गरेको देखिन्छ भने फौजदारी मुद्दामा शंकाको सुविधासमेत अभियुक्तले नै पाउने हुन्छ । कर्तव्य ज्यान मुद्दा जस्ता राज्य विरूद्धका अपराधहरूको अनुसन्धान तहकिकातमा राज्य नै संलग्न हुने भएपनि घटनाको प्रत्यक्ष प्रभाव र असर प्रथमत: पीडितका घर परिवारलाई र त्यसको साथसाथै पूरै समाजलाई नै बनाइरहेको हुन्छ । यस्ता वारदातको अनुसन्धान तहकिकातमा राज्य स्वयम् नै संलग्न हुने भएपनि पीडित परिवार, प्रत्यक्षदर्शी एवं घटनासँग प्रत्यक्ष रूपमा सम्बन्धित एवं घटनामा संलग्न रहेका व्यक्तिहरूसमेतको पनि कम जिम्मेवारी र दायित्व नरहे, नभएको भन्‍ने हुँदैन । प्रमाण जुटाउने, पुर्‍याउने सम्बन्धमा उनीहरूको पनि अहम् भूमिका रहेको हुन्छ । घटना र वारदातको बारेमा जसलाई प्रत्यक्ष रूपमा थाहा र जानकारी हुन्छ, घटनाबाट जसलाई प्रत्यक्ष रूपमा प्रभाव र असर परेको हुन्छ ऊ नै प्रमाण प्रस्तुत गर्ने क्रममा अनुसन्धान तहकिकातदेखि अदालती कारबाहीको अवस्थासम्म स्थिर र अडिग नभई निष्क्रिय, स्खलित एवं विचलित भैदिएमा त्यसले प्रमाण मूल्याङ्कनको रोहमा मुद्दाको परिणाममा आशातीत रूपमा सफलता प्राप्‍त हुन सक्दैन । घटना र वारदातलाई जसले प्रत्यक्ष रूपमा देखेको र थाहा पाएको छ र त्यसबाट जसलाई प्रत्यक्ष रूपमा असर परेको छ ऊ नै अदालती कारबाहीको प्रमाण प्रस्तुतीकरणको सन्दर्भमा कमजोर भैदियो, सुरूको भनाइलाई फेरिदियो र प्रतिवादीको पक्षमा हुने गरी घटना एवं वारदातको तथ्यविपरीत बकपत्र गरिदियो भने पीडितलाई सहयोग र प्रतिवादीलाई कसुरदार ठहर गर्ने अदालतको पुनित कानूनी कर्तव्यको जग नै कमजोर बन्‍न पुग्छ । यस अवस्थामा अदालत पनि कसुरदारलाई सजाय गरी समाजमा शान्ति स्थापना गर्ने र साथसाथै पीडितलाई पनि सहयोग गर्ने जिम्मेवारी बहन गर्नमा असमर्थ बन्‍न पुग्दछ । अनुमानको आधारमा टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न सक्तैन । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम् वा निजका परिवारले कसुरदारलाई नै उन्मुक्ति दिएर अदालतमा आफ्नो कथन / अभिव्यक्त गरिदिएको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न मिल्दैन । शंकारहित तवरबाट कसुरको पुष्टि नभएसम्म कसैलाई पनि कसुरदार ठहर गर्न मिल्दैन । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले आरोपित कसुर गरेका हुन् भनी वादी नेपाल सरकारका तर्फबाट तथ्ययुक्त रूपमा प्रत्यक्ष, भौतिक एवं परिस्थितिजन्य प्रमाणहरू पेस गरी पुष्टि गर्न सकेको नदेखिँदा यी प्रतिवादीहरूसमेतलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१७. अत: माथि विवेचित आधार र कारणहरूबाट प्रतिवादीहरू नरेश भन्‍ने कृष्णकुमार याख्खा, दुर्गा लिम्बू र दिपेन्द्र भन्‍ने भुपाल तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी सुरू मोरङ जिल्ला अदालतबाट मिति २०७०।१।२४ मा भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।१।२८ को फैसला र प्रतिवादी विष्णु याख्खा राई भन्‍ने विष्णुकुमार याख्या राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९।६।२ को फैसला उल्टी गरी निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको माननीय न्यायाधीश श्री कुमार चुडालको मिति २०७१।१।२८ को राय सदर हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।७।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 उक्त रायमा सहमत छु ।

न्या. मीरा खड्का

 

इजलास अधिकृत : अरूणकुमार कोइराला

इति संवत् २०७५ साल आषाढ ६ गते रोज ४ शुभम् ।

 

Comments

Popular posts from this blog

Final Note of Jurisprudence for All

Negotiable Instruments Act, 2034 (1977)