२९ ‌‍‍‍‍‌‌‌औँ अधिवक्ता तहकोलागि निर्धारित नजिरहरु नि‍र्णय न. १०१९८

निर्णय नं. १०१९८ - हाडनातामा जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक: 

 फैसला मिति :२०७५/०२/०९  

 

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७५।२।९

०७१-CR-१६०९

 

मुद्दाः- हाडनातामा जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला तेह्रथुम, गा.वि.स. म्याङ्लुङ वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय, तेह्रथुममा थुनामा रहेको भीमबहादुर नेपाली

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम जमुनाकुमारीको जाहेरीले नेपाल सरकार

 

न्यायिक वा अर्धन्यायिक अधिकारीले स्वविवेकाधिकारको प्रयोग गर्दा न्यायिक मनको प्रयोगका साथ गर्नुपर्छ । न्यायिक मन न्यायकर्तामा हुनुपर्ने न्यायिक दक्षता मात्र हैन, नैतिक चेतना पनि हो । यसले न्यायिक स्वविवेकलाई उचित र न्यायपूर्ण बनाउन निर्देशित गर्दछ । यसले उचित अनुचित, ठीक बेठीकको अन्तरलाई दृष्टिगत गरी सही ढंगले कानूनको पालना, प्रयोग र प्रचलन गर्न पनि अभिप्रेरित गर्दछ, गरिनु पर्ने ।

कसुरदार ठहर गर्दा मात्र हैन, सजाय निर्धारण गर्दासमेत न्यायकर्ताले न्यायिक मनको प्रयोग न्यायोचितरूपमा 

गर्नुपर्छ । ऐनले दिएको तजबिजी  अधिकारको प्रयोग गर्दा कसुरदारहरू पटके अपराधी भए नभएको, संगठित आपराधिक समूहमा रहे नरहेको, नाबालक वा वृद्ध वा असक्त आदिलाई प्रयोग गरे नगरेकोसमेतका अपराध गर्दाको अवस्थामा प्रयोग भएका साधन, प्रक्रिया र पद्धतिका अतिरिक्त दशीको प्रकृति मात्रासमेतलाई मध्यनजर राख्नु पर्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री यदुनाथ शर्मा

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः-

मा. न्यायाधीश श्री गोपालप्रसाद बास्तोला

तेह्रथुम जिल्ला अदालत

सुरू तहमा फैसला गर्नेः-

मा.का.मु.मुख्य न्या. श्री शम्भुबहादुर खड्का

माननीय न्यायाधीश श्री विदुरविक्रम थापा

पुनरावेदन अदालत धनकुटा

 

फैसला

न्या. टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार रहेको छ:-

 

तथ्य खण्ड

तेह्रथुम जिल्ला, म्याङलुङ गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा पदमबहादुर पयाङ्गोको जङ्गल, पश्चिममा .............. को घरबारी, उत्तरमा प्रेम राईको बारी र दक्षिणमा पदमबहादुर पयाङ्गोको बारी, जङ्गल यति चारकिल्लाभित्र अवस्थित ढुङ्गामाटोले बनेको छत्रबहादुर नेपालीको घरको भुइँ तलामा आफ्नो छोराछोरीसँग सुतिरहेकी पीडित जमुनाकुमारी परिवर्तित नामलाई प्रतिवादी भीमबहादुर नेपालीले मिति २०७०/१/१९ गते राति ११ बजेको समयमा एक्कासी आई घर कोठाको ढोका फुटाई भित्र पसी विभिन्‍न धाकधम्की दिई निजलाई घरबाहिर निकाली अन्दाजी १५० मिटर तलसम्म लछारपछार गर्दै घिसारी जङ्गलमा लगी जबरजस्ती करणी गरेको भनी देखाइएको स्थानमा हेर्दा बुट्‍यानहरू मडारिएको र वारदातस्थलमा प्रतिवादी भीमबहादुर नेपालीले लगाएको ढाकाको टोपीसमेत फेला परेको ठीक हो भन्‍नेसमेत बेहोराको मौकामा भएको चारकिल्लासहितको घटनास्थल मुचुल्का । 

प्रतिवादी भीमबहादुर नेपाली मेरा जेठाजु हुन् । मिति २०७०/१/१९ गते बेलुका मेरो श्रीमान् छत्रबहादुर नेपाली मासु लिनको लागि भनी गाउँमा जानुभएको थियो । त्यस अवस्थामा मैले घरको ढोका भित्रबाट बन्द गरेर २ जना छोरीको साथमा बसिरहेको अवस्थामा राति अन्दाजी ११ बजेतिर प्रतिवादी भीमबहादुर नेपाली मेरो घरबाहिर आएर ढोकामा ढुङ्गा तथा लात्ताले हानी बन्द गरेको ढोका फोरेर भित्र पसी मेरो कपालको चुल्ठोमा समाई तानेर बाहिर निकाली बोल्न कराउनसमेत नदिई मेरो घरभन्दा अन्दाजी १५० मिटर तल ओख्रेको जङ्गलमा लगी मलाई जबरजस्ती करणी गरेका र मलाई निजले जङ्गलतिर लिएर जाँदा चिच्याई कराई गरेको हुँदा तत्काल मेरो श्रीमान् तथा अन्य गाउँका मानिसहरूसमेतले थाहा पाई मलाई खोज्दै गएको गाउँलेहरूको आवाज सुनी निज प्रतिवादी भागेर जङ्गलतर्फ गएको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरिपाउँ भनी पीडित जमुनाकुमारी परिवर्तित नामले मौकामा दिएको जाहेरी दरखास्त ।

पीडित जमुनाकुमारी परिवर्तित नामलाई जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुममा लगी मौकामा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट । 

प्रतिवादीले मिति २०७०/१/१९ गते राति ११ बजेको समयमा जाहेरवालीलाई जबरजस्ती करणी गरी फरार रहेका, निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा तेह्रथुम जिल्ला, पिप्ले गा.वि.स. वडा नं. ७ स्थितको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा मिति २०७०/१/२४ गते फेला परेको हुँदा निजलाई आवश्यक कारबाहीको लागि पक्राउ गरी दाखिला गराएको भन्नेसमेत बेहोराको मौकाको प्रहरी      प्रतिवेदन । 

मैले जबरजस्ती करणी गरेको जमुनाकुमारी परिवर्तित नाम मेरो सहोदर माइलो भाइ छत्रबहादुर नेपालीकी श्रीमती, नातामा भाइबुहारी हुन् । हाम्रो बुबा आमाको ४/५ वर्षअगाडि नै मृत्यु भएको थियो । बाबु आमाको मृत्यु हुनुभन्दा अगाडि बुबाआमाले मौखिक रूपमा गरी खान भनी दिएको जग्गा जमिनबाहेक बाबु आमाले जिउनीमा राखेको जग्गा जमिन बाबु आमाको मृत्युपश्‍चात् निज भाइबुहारीले एकलौटी रूपमा प्रयोग गर्दै आएकोमा मैले बेलाबेलामा जग्गाको बाँडफाँडको विषयमा कुरा उठाउँदा निज परिवर्तित नाम जमुनाकुमारीले नमान्‍ने गरेको तथा मेरो श्रीमतीलाई विभिन्‍न कुराहरू लगाएर घरमा झगडा गराएको कारण मेरो श्रीमतीले घर छोडी हिँडेको हुँदा मैले निज परिवर्तित नाम जमुनाकुमारीलाई मार्ने मनसायको साथ निजको घरमा गई ढोका खोल्न जबरजस्ती लात्ती र ढुङ्गाले हानी ढोका फुटाई भित्र पस्दा निज भाग्न खोजेकीले निज जाहेरवालीलाई चुल्ठोमा समाई लछारपछार गर्दा निजसँग भएका स-साना छोरीहरू आएको कारण मार्न असहज भएको हुँदा घरबाट तानेर निजलाई अन्दाजी १५० मिटर तलको जङ्गलसम्म कुटपिट लछारपछार गर्दै घिसार्दै वारदातस्थलसम्म पुर्‍याएपश्‍चात् निजलाई मार्नुभन्दा करणी गर्न मन लागेको हुँदा मलाई करणी गर्न देउ भनेर माग्दा नदिएको हुनाले जबरजस्ती करणी गरेको हुँ । त्यस्तैमा स्थानीय मानिसहरू पीडितलाई खोज्दै आएको हुँदा म भागेर सुरक्षित स्थान जङ्गलतर्फ गएको हुँ । भागेर लुक्दै हिँड्ने क्रममा मिति २०७०/१/२४ गते पिप्ले-७ को जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउमा परेको हुँ । मलाई आफ्नै भाइबुहारी र महिलामाथि जबरजस्ती करणी गर्दा कानूनबमोजिम कारबाही हुन्छ भन्‍ने थाहा हुँदाहुँदै बुहारीलाई जबरजस्ती करणी गरेको हुँ भनी प्रतिवादी भीमबहादुर नेपालीले अधिकारप्राप्‍त अधिकारीसमक्ष मौकामा गरिदिएको बयान ।

वारदात मिति २०७०/१/१९ गते राति ११ बजेको समयमा म घरको भुइँतलामा आमासँग सुतिरहेको थिएँ । घरको माथिल्लो तलामा दाजु सञ्‍जय नेपाली सुतिरहनुभएको थियो । राति अन्दाजी ११ बजेको समयमा हाम्रो घरको ढोका ढुङ्गाले हान्‍न थालेपछि हामी बिउँझिएर कसले ढोकामा ढुङ्गा हान्यो भन्दै हामी चुपचाप बस्यौं तर पनि हाम्रो घरको ढोका फुटाई ठूलोबुबा भीमबहादुर नेपाली घरभित्र पसी मेरो आमालाई कुटपिट गर्दै कपालमा समातेर बाहिर निकाल्न खोज्दा हामीले ढोकामा गई छेक्न खोजेको तर हामीलाई नै कुटपिट गरी आमालाई जङ्गलतर्फ लगेपछि हामीले रूने कराउने गरेको र सो कुरा दाजु सञ्‍जय नेपालीले थाहा पाई होहल्ला गरेपछि गाउँका मानिस तथा बुबासमेत आई मेरो आमालाई ठूलो बुबाले लगेको जङ्गलतर्फ खोज्दै गएको र घरभन्दा अन्दाजी १५० मिटर तलको जङ्गलमा अचेत अवस्थामा फेला पारेर घरमा ल्याएको हो । प्रतिवादीले मेरो आमालाई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी पीडित जमुनाकुमारी परिवर्तित नामकी छोरी .............. ले बाबु  .............. को रोहबरमा मौकामा गरिदिएको घटना विवरण कागज । 

वारदात मिति २०७०/१/१९ गते राति ११ बजेको समयमा म घरको माथिल्लो तलामा सुतिरहेको थिएँ । आमा र बहिनी घरको भुइँ तलामा सुतिरहेका थिए । बुबा गाउँतिर जानुभएको थियो राति अन्दाजी ११ बजेको समयमा घरको ढोका फुटाई ठूलोबुबा भीमबहादुर नेपाली घरभित्र पसी आमा जमुनाकुमारी परिवर्तित नामलाई कुटपिट गर्दै कपालमा समातेर लगेको भन्दै बहिनीहरू रून कराउने गरेको म भुइँतलामा झरी होहल्ला गरेको र गाउँका मानिस तथा बुबासमेतलाई बोलाई मेरो आमालाई ठूलोबुबाले जङ्गलतर्फ लगेकोले गाउँतिर खोज्दै गएको र घरभन्दा अन्दाजी १५० मिटर तलको जङ्गलमा अचेत अवस्थामा फेला पारेर घरमा ल्याएको हो । प्रतिवादीले मेरो आमालाई सुतिरहेको ठाउँबाट उठाएर लगी जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी पीडित जमुनाकुमारी परिवर्तित नामको छोरा सञ्‍जय नेपालीले बाबु  .............. को रोहबरमा मौकामा गरिदिएको घटना विवरण कागज । 

मिति २०७०/१/१९ गते बेलुकाको खाना खाई म गाउँमा घुम्न गएको थिएँ । घरमा मेरा छोराछोरी, श्रीमती सुतिरहेको अवस्थामा राति अन्दाजी ११ बजेको समयमा मेरो छोराछोरी कराएको आवाज सुनी के भएछ भनी हतारमा घर पुगी सोध्दा प्रतिवादी मेरै दाइ भीमबहादुर नेपालीले मेरी श्रीमती परिवर्तित नाम जमुनाकुमारीलाई तानेर जङ्गलतर्फ लगेको  भनेपछि गाउँमा हारगुहार गरी खोज्दै जाँदा मेरो घरभन्दा अन्दाजी १५० मिटर तल जङ्गलमा अचेत अवस्थामा फेला पारेको र निजलाई सोध्दा भीमबहादुर नेपालीले जबरजस्ती करणी गरेको कुरा बताएकी हुन् । निजको शारीरिक अवस्था हेर्दा शरीरभरि कोरिएको घाउहरू थिए । प्रतिवादीले मेरो श्रीमतीलाई म घरमा नभएको मौका पारी घरबाट जङ्गलसम्म लगी जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही होस् भन्‍नेसमेत बेहोराको  .............. ले मौकामा गरिदिएको घटना विवरण कागज । 

मिति २०७०/०१/१९ गते राति वारदात भएको अवस्थामा म आफ्नै घरमा थिएँ । पक्राउमा परेका प्रतिवादी भीमबहादुर नेपाली र पीडित परिवर्तित नाम जमुनाकुमारीलाई म राम्ररी चिन्दछु । निजहरू जेठाजु बुहारी हुन्, वारदात भएको समयमा पीडितको श्रीमान् छत्रबहादुर नेपाली सुँगुरको मासु लिनको लागि गाउँमा गएको मौका पारी प्रतिवादीले पीडित स-साना छोराछोरीहरूसँग घरमा सुतिरहेको अवस्थामा घरको ढोका नै फुटाई निज पीडितलाई तानेर घरभन्दा अन्दाजी १५० मिटर तल जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्‍ने कुरा मैले ऐ.२० गते बिहान थाहा पाएको हुँ । प्रतिवादी भीमबहादुर नेपालीले पीडित परिवर्तित नाम जमुनाकुमारीलाई के कस्तो परिबन्दमा पारी जबरजस्ती करणी गरेका हुन् सो मलाई यकिन थाहा भएन । प्रतिवादी भीमबहादुर नेपाली गाउँघरमा फटाहा स्वभावका मानिस हुन् । निजले आफ्नै श्रीमतीलाई कुटपिट गर्ने र यसभन्दा अगाडि पनि गाउँकै महिलालाई जबरजस्ती करणी गरेको कारण कारागारमा कैद बसी छुटेका व्यक्ति हुन् । निज प्रतिवादीले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम हुने हदैसम्मको सजाय होस् भन्‍नेसमेत बेहोराको प्राय: एकै मिलान हुने गरी लक्ष्मी पौडेल, तेजबहादुर नेपाली, कर्णबहादुर सार्की, तीलमाया सार्की र धनबहादुर सार्कीले मौकामा गरिदिएको वस्तुस्थिति मुचुल्का कागज । 

यसमा मिसिल संलग्न कागज प्रमाणहरू, घटनास्थल मुचुल्का, पीडितको जाहेरी दरखास्त, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादी भीमबहादुर नेपालीको बयान तथा घटना विवरण कागजका मानिसहरूको भनाइसमेतका कागजातहरूबाट तेह्रथुम जिल्ला, १-१-९ बस्ने वर्ष ३३ की परिवर्तित नाम जमुनाकुमारीको घरमा रातको अं.११ बजेको समयमा प्रतिवादी भीमबहादुर नेपालीले घरको ढोकामा ढुङ्गामुढा गरी ढोका खोली, फोडी निज पीडितको घरभित्र प्रवेश गरी पीडित जमुनाकुमारीको कपालको चुल्ठोमा समाई बोल्न कराउनसमेत नदिई निजको घरभन्दा १५० मिटर तल ओख्रे भन्‍ने जङ्गलमा लगी मिति २०७०/१/१९ गते आफ्नै भाइबुहारी नाताकी परिवर्तित नाम जमुनाकुमारीलाई हाडनातामा जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन आएकाले प्रतिवादी भीमबहादुर नेपालीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र २ नं. हाडनाताकी आफ्नै भाइबुहारीलाई जबरजस्ती करणी गरेकोमा हाडनाता करणी गर्नेको महलको २ नं. अन्तर्गतको कसुर भएकोले प्रतिवादी भीमबहादुर नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम सजाय गरी ऐ.ऐ. को २ नं. बमोजिम आफ्नै भाइबुहारीलाई जबरजस्ती करणी गरेको हुँदा हाडनाता करणी गर्नेको महलको २ नं. बमोजिम थप सजाय हुन तथा जबरजस्ती करणीको महलको १०ग. नं. बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको अभियोग दाबी ।

अंशबन्डासम्बन्धी सरसल्लाह गर्नु पर्‍यो भनी मिति २०७०/१/१९ गतेका दिन म मेरो माहिला भाइ छत्रबहादुर नेपालीको घरमा बेलुकी अं. ७.३० बजेको समयमा पुग्दा भाइको घरमा ढोका लगाइसकेको 

रहेछ । मैले ढोका ढक्ढक्याई खोल्न अनुरोध गर्दा बुहारीले ढोका खोली निजको छोरालाई बोलाउन थालिन् । भाइ छत्रबहादुर गाउँमा मासु लिन गएका रहेछन् । सो पछि बुहारी परिवर्तित नाम जमुना कुमारीलाई तान्दै घरबाट अं. १५० मिटर तल जबरजस्ती करणी गर्ने उद्देश्यले लगी खोल्सी पारी हामी बस्यौं, निजको घरबाट निजका छोराछोरीले गुहार भनी कराउन थाले । पीडितले मलाई अँगालो हालिन् र निजलाई मैले भुइँमा सुत्‍न भनेपछि निज आफैँ भुइँमा सुतिन् । निजले लगाएको सुरूवाल मैले नै खोलेँ र १५ मिनेटजति करणी गरेपछि गाउँलेहरू भाइ छत्रबहादुरको घरमा भेला भई पीडितलाई खोजतलास गर्न थालेपछि मलाई पीडितले भाग भनेकाले म भागेर १० मिनेटको बाटो हिँडेपछि पीडित चिच्याउन थालिन् र म मेरो घरमा आई झोला बोकी भागी साब्ला गा.वि.स.मा बसेँ र मिति २०७०/१/२४ गते मलाई पिप्लेबाट प्रहरीले पक्राउ गरेका हुन् । मेरो भाइबुहारी परिवर्तित नाम जमुनाकुमारी र मेरो बीचमा जग्गासम्बन्धी पूर्वरिसइवी थियो । पीडित भाइबुहारीसँग मेरो २०६६ सालदेखि नै करणी लिनुदिनु हुने गर्थ्यो । मैले पीडित जमुनाकुमारीलाई उक्त दिन पनि करणी गर्ने सोच विचार गरी गई घरदेखि तल हातमा समाई तान्दै लगी करणी गरेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी भीमबहादुर नेपालीले सुरू अदालतमा गरिदिएको बयान । 

तत्काल प्राप्‍त प्रमाणका आधारमा प्रतिवादी भीमबहादुर नेपालीको कसुर अ.बं.११८ को देहाय २ नं. आकर्षित हुने प्रकृतिको देखिँदा निज प्रतिवादी भीमबहादुर नेपालीलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्नु भन्‍नेसमेत बेहोराको सुरू अदालतबाट मिति २०७०/२/२ मा भएको थुनछेक आदेश । 

मिति २०७०/१/१९ गते राति ११ बजे मेरो घरको ढोकामा २ पटक ढुङ्गाले हान्यो । हामीले ढुङ्गा हान्‍ने को हो भनी करायौं । तेरो बाउ हो भन्यो र ढोका यी प्रतिवादी भीमबहादुर नेपालीले उघारी भित्र पसी मलाई चुल्ठामा समाई बाहिर निकाल्दा छोरीले मलाई कम्मरमा समाउँदा छोरीलाई हिर्काई मबाट छुटाई मलाई कपालमा तानी घिसारी जङ्गलतर्फ १५० मिटर तल मुख थुनी घाँटीमा समाती जबरजस्ती मैले लगाएको सुरूवाल खोली भुइँमा लडाई जबरजस्ती करणी गर्दा मैले चिच्याएकाले मेरो श्रीमान्‌समेत गाउँका व्यक्ति खोज्न आउँदा निज भागी बेपत्ता भएका हुन् । यी प्रतिवादी मेरो जेठाजु नाताका मानिस हुन् । मलाई घिसारेका कारण मेरो स्वीटर कट्टु र सुरूवालसमेत च्यातिएको छ भन्नेसमेत बेहोराको जाहेरवाली पीडित परिवर्तित नाम जमुनाकुमारीले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।

मिति २०७०/१/१९ गते म गाउँमा मासु लिन गएको थिएँ । पीडितको भनाइअनुसार प्रतिवादीले मेरो श्रीमतीलाई जबरजस्ती करणी गरेको हो । जबरजस्ती करणी गरेको हल्ला सुनेपछि गाउँलेसमेत भई पीडितलाई खोज्न गई जङ्गलमा भेटी घरमा ल्याएको हो । निजको शरीरमा घा चोटपटक थियो, कपाल छरपस्ट र कपडा, सुरूवाल, कट्टु च्यातिएको थियो भन्‍नेसमेत बेहोराको छत्रबहादुर नेपालीले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्र । 

मसमेत भई जङ्गलमा भेट्दा पीडितलाई जबरजस्ती करणी गरेको जस्तो लाग्छ । मैले देख्दा पीडितको हालत नाजुक थियो । कपाल छरपष्ट थियो । शरीरमा घाउचोट थियो भन्नेसमेत बेहोराको धनबहादुर कार्कीले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्र । 

मिति २०७०/१/१९ गते म मेरै घरमा 

थिएँ । उक्त समयमा प्रतिवादी मेरो घरमा आई ढोकामा ढुङ्गाले हानी जबरजस्ती ढोका खोली मेरो आमालाई चुल्ठोमा समाई घरदेखि १५० मिटर तल जङ्गल खोल्सीमा लगी जबरजस्ती करणी गरेको हो । सो अवस्थामा हामी चिच्याई कराउँदा बुबासमेत आई आमालाई खोज्न जाँदा जङ्गलमा भेटी घरमा ल्याएको हो । सो अवस्थामा यी प्रतिवादी भागी बेपत्ता भएको भन्‍ने सुनेकी हुँ भन्नेसमेत बेहोराको  .............. ले सुरू अदालतमा उपस्थित भई गरिदिएको बकपत्र । 

प्रतिवादीले मौकाको बयानमा आफ्नो बुहारी नाता पर्ने जाहेरवालीलाई सहमतिमा करणी गरेको हो भनी बयान गरेकोमा अदालतसमक्ष आई बयान गर्दा जीउनी खाने विषयमा बुहारीसँग पहिलेदेखि नै झगडा रहेको भनी बयान गरेको पाइन्छ । झगडा रिसइबी भएको महिलासँग सहमतिमा करणी हुन सक्दैन । रातको समयमा चुल्ठोमा समाई जङ्गलतर्फ घिसार्दै लानु पर्ने अवस्था पनि पर्दैन । घटनाको प्रकृति, पीडितको घा चोट, लुगाफाटो च्यातिनु, प्रत्यक्षदर्शी सविना नेपालीको बकपत्रसमेतबाट हेर्दा सहमतीय करणी भएको भन्‍ने देखिँदैन । तसर्थ प्रतिवादीले जबरजस्तीको रीतमा आफ्नो भाइबुहारी नाताकी जाहेरवालीउपर करणी गरेको पुष्टि हुन आएकोले जबरजस्ती करणीको ३(५) नं. बमोजिम ७ (सात) वर्ष, हाडनाता करणी गर्नेको महलको २ नं. बमोजिम कैद ६ (छ) वर्षगरी १३ (तेह्र) वर्ष कैद र जबरजस्ती करणीको १० नं. बमोजिम १०,०००।- (दश हजार) क्षतिपूर्ति भराई दिने ठहर्छ भन्‍ने सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०७०/३/११ को फैसला । 

मैले प्रहरीसमक्ष दिएको बयान स्वेच्छाको होइन, धाकधम्की र त्रासको भरमा दिएको इच्छाविपरीतको बयानलाई आधार लिई सुरू अदालतले दोषी ठहर गरी भएको फैसला त्रुटिपूर्ण छ । जाहेरवालीसँग मेरो कुनै रिसइवी थिएन । म निजको घरमा भाइसँग सरसल्लाह गर्न गएको थिएँ । जाहेरवालीलाई मैले हातमा समाई निजकै मन्जुरीले रातको अँध्यारोमा जङ्गलतर्फ लैजाँदा निज लडी सामान्य चोटपटक लागेको हो, घिसार्दै लगेको होइन । त्यसरी लैजाँदै गर्दा निजको छोरीले देखेकी हुन् । हामीले सहमतिले करणी भइसकेपछि अरूले थाहा पाउँछन् भनी तिमी यहाँबाट भागी जाउ भनी जाहेरवालीले मलाई भनेपछि म गएको केहीपछि जाहेरवाली आफैँ चिच्याई, कराई आफ्नो लुगा कपडा च्यातेकी हुन् । सो कुरा छोरी  .............. को बकपत्रबाट स्पष्‍ट भइरहेको अवस्थामा समेत मलाई जबरजस्ती र हाडनाता दुवैमा सजाय गर्ने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा झुठ्ठा अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी भीमबहादुर नेपालीको पुनरावेदन जिकिर ।

कुनै पनि महिलालाई निजको इच्छाविपरीत निजको अनतिक्रम्य शरीरको पवित्रताको अपहरण गरी जबरजस्ती करणी गर्नु नैतिकता र कानूनविपरीतको अपराध हुने कुरामा दुइमत हुन सक्दैन । यी पुनरावेदकले आफ्नो घरमा रहेकी भाइबुहारीलाई निजको घरबाट जबरजस्ती जङ्गलमा लगी निजको इच्छाविपरीत जबरजस्ती करणी गरेको कुरा मिसिल संलग्न प्रमाणबाट स्थापित भएको हुनाले यी पुनरावेदक भीमबहादुर नेपालीलाई जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ७ (सात) वर्ष कैद र हाडनाता करणी गर्नेको महलको २ नं. बमोजिम थप ६(छ) वर्ष कैद हुने तथा पीडित परिवर्तित नाम जमुनाकुमारीलाई जबरजस्ती करणीको महलको १०ग. नं. बमोजिम रू.१०,०००।- (दश हजार) क्षतिपूर्ति प्रतिवादी भीमबहादुर नेपालीबाट भराइदिने ठहर्‍याई सुरू तेह्रथुम जिल्ला अदालतबाट मिति २०७०/३/११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने बेहोराको पुनरावेदन अदालत धनकुटाको फैसला ।

मेरो अधिकारप्राप्त अधिकारीसमक्षको बयान मेरो स्वेच्छाको बयान होइन र यसलाई प्रमाणमा लिन पनि मिल्दैन । अदालतमा समेत जाहेरवालाको परिवारको सदस्यको डरले बयान गरेको अवस्था हो । उक्त बयान र साक्षीहरूको बकपत्रको आधारमा मलाई अभियोग दाबी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं., ऐ. हाडनाता करणी गर्नेको महलको २ नं. र जबरजस्ती करणीको महलको १०(ग) नं., बमोजिम उपल्लो हदको सजाय गर्दा सुरू र पुनरावेदन अदालतले कुनै कारण खोल्न सकेको अवस्था 

छैन । मैले अदालतलाई सहयोग पुग्ने गरी यथार्थ बयान गरेको छु । पीडित र मेरोबीच पहिलेदेखि सहमतिमा करणी लिनुदिनु हुने गरेको थियो । मैले निजलाई तानेर लगेको होइन । जबरजस्ती करणी हुन संकेतहरू आवश्यक हुनेमा स्वास्थ्य जाँच प्रतिवेदनमा के कस्ता संकेत थिए भनी फैसलामा खुलाइएको छैन । यस्तो अवस्थामा मलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको न्यूनतम हदसम्मको सजाय हुनुपर्नेमा सुरू र पुनरावेदन अदालतबाट सजायको उपल्लो हदसम्म भएको फैसला नमिलेको हुँदा उल्टी गरी न्यूनतम् सजाय हुने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भीमबहादुर नेपालीको पुनरावेदन पत्र ।

यसमा प्रतिवादीलाई कसुरको अनुपातमा सजाय कठोर भई प्रमाण मूल्याङ्कन र न्यायको रोहमा पुनरावेदन अदालत धनकुटाको फैसला फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ता कार्यालयलाई सूचना दिई कानूनबमोजिम गरी पेस गर्नुहोला भन्ने यस अदालतको आदेश । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री यदुनाथ शर्माले प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतमा बयान गर्दा पीडितलाई करणी गरेकोमा साबित रही बयान गरेको अवस्था छ । निजको बयानलाई वादी पक्षका साक्षीहरूको अनुसन्धान अधिकारी र अदालतको बकपत्रसमेतबाट पुष्टि भएको अवस्था छ । प्रतिवादीको र साक्षीहरूको बयान बकपत्रबाट प्रतिवादीले आफ्नै भाइबुहारी नाताकी पीडितलाई क्रूर तरिकाले वारदात घटाएको अवस्थामा निजलाई उपल्लो हदको सजाय गर्ने गरी सुरू जिल्ला अदालत र पुनरावेदन अदालतबाट भएको फैसला मिलकै हुँदा सदर हुने गरी फैसला गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

अब, पुनरावेदन अदालत धनकुटाबाट भएको फैसला मिलेको छ वा छैन ? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय गर्नुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी भीमबहादुर नेपालीले मिति २०७०/१/१९ गते आफ्नै भाइबुहारी नाताकी परिवर्तित नाम जमुनाकुमारीलाई हाडनातामा जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन आएकाले निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम सजाय गरी ऐ.ऐ. को २ नं. बमोजिम आफ्नै भाइबुहारीलाई जबरजस्ती करणी गरेको हुँदा मुलुकी ऐन, हाडनाता करणी गर्नेको महलको २ नं. बमोजिम थप सजाय हुन तथा जबरजस्ती करणीको महलको १०ग. नं. बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू तेह्रथुम जिल्ला अदालतबाट निज प्रतिवादी भीमबहादुर नेपालीलाई अभियोग दाबीअनुरूप जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ७ (सात) वर्ष कैद र हाडनाता करणी गर्नेको महलको २ नं. बमोजिम थप ६(छ) वर्ष कैद हुने तथा पीडित परिवर्तित नाम जमुनाकुमारीलाई जबरजस्ती करणीको महलको १०ग नं. बमोजिम रू.१०,०००।- (दश हजार) क्षतिपूर्ति प्रतिवादी भीमबहादुर नेपालीबाट भराइदिने ठहर्‍याई भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत धनकुटाबाट भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादी भीमबहादुर नेपालीले अभियोग दाबीबमोजिम उपल्लो हदको सजाय नमिलेको हुँदा तल्लो हदसम्मको सजाय गरिपाउँ भनी प्रस्तुत पुनरावेदन गरेको देखियो ।

३. पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरतर्फ हेर्दा, यी प्रतिवादीले मौकाको बयान स्वेच्छाको होइन, अदालतको बयान जाहेरवालाको परिवारको सदस्यको डरले गरेको हो । त्यस्तो बयान र साक्षीको भनाइको आधारमा उपल्लो हदको सजाय गर्ने गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन । न्यूनतम सजाय गरी न्याय पाउँ भन्ने जिकिर  लिएबाट तल्लो अदालतबाट कसुर ठहर भएतर्फ पुनरावेदकको खासै जिकिर नभई सजाय कम हुनुपर्ने भन्ने मुख्य पुनरावेदन जिकिर रहेको देखियो । तथापि अनुसन्धान अधिकारीसमक्ष भएको बयान स्वेच्छा विरूद्धको हो भन्ने र अदालतको बयान जाहेरवालीको परिवारको सदस्यको भयले गरेको भन्ने जिकिर लिएको हुँदा त्यसतर्फ विचार गरिनु उपयुक्त नै हुने नै देखिन आई हेर्दा अदालतको बयानमा सहमतिले करणी लिनुदिनु भएको हो भन्ने यी प्रतिवादीको बयान भनाइ र जबरजस्ती करणी गर्ने उद्देश्यले पीडितलाई घरबाट तानेर जंगलतर्फ लगेको हुँ भन्ने निजको मौकाको भनाइ आफैँमा विरोधाभास छ । जाहेरवालाको परिवारको सदस्यको डरले अदालतमा बयान गरेको भन्ने प्रतिवादीले सहमतिले करणी लिनुदिनु भएको हो भन्नु पनि आफैँमा अन्यथा 

देखिन्छ । पूर्वरिसइवीका कारण मार्ने उद्देश्यले जाहेरवालीलाई तानेर जङ्गल लगेँ, करणी गर्न मन लाग्यो र सो गर्न दिनभन्दा जाहेरवालीले नमान्दा जबरजस्ती करणी गरेको हुँ भन्ने निज प्रतिवादीले आफ्नो त्यस्तो बयान जिकिर पुष्टि गर्न कुनै साक्षी प्रमाण पेस गर्न सकेको पनि देखिँदैन भने जबरजस्ती करणी गरेको स्वीकारेका छन् । जाहेरवाली पीडितले आफूलाई प्रतिवादीले रातको ११ बजेको समयमा ढोका फोरी घरभित्र पसी कपालमा समाती जबरजस्ती तानेर जङ्गलमा लगी निजले आफूलाई जबरजस्ती करणी गरेका हुन् भनी किटानी जाहेरी दिनुका साथै अदालतमा उपस्थित भई सोही बेहोराको बकपत्र गरेकी छन् । जमिन मडारिएको भन्ने घटनास्थल मुचुल्का एवं शरीरमा चोटपटक लागेको देखिएको भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदनले समेत पीडितको उक्त भनाइ समर्थित हुन आएको र पीडितसँगै रहेकी निजकी छोरी ..............  तथा घरमै रहेका छोरा  .............. को मौकामा भएको कागज तथा अदालतको बकपत्र भनाइबाट वारदातको समय प्रतिवादी (ठूलोबुबा) निजहरूको घरमा आई आमालाई तानेर जङ्गलतर्फ लगेको र आफूहरूले केही गर्न नसकी हारगुहार गरेको भनेबाट वारदात पुष्टि भएको अवस्था छ । सहमतिले करणी भएको हो, मानिस आएपछि आफूलाई भाग्न पीडितले भनेपछि भागेको र त्यसपछि पीडितले आफैँ चिच्याई लगाएको कपडा च्यातेकी हुन् भन्ने पुनरावेदक प्रतिवादीको अदालतको बयान निजले पुष्टि गर्न सकेको अवस्था छैन र पीडितको त्यस्तो कुनै भनाइ नभएबाट त्यस्तो कुरा प्रतिवादी स्वयम्‌ले रचेका रहेछन् भन्नुपर्ने हुन आएको छ । यसबाट पुनरावेदक प्रतिवादीको उल्लिखित पुनरावेदन जिकिर तथ्यसङ्गत नभई प्रतितलायक देखिन आउँदैन । यस स्थितिमा अभियोग दाबीअनुसार प्रतिवादीले कसुर गरेको ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्नुपर्ने अवस्था देखिन आउँदैन ।

४. अब, जहाँसम्म उपल्लो हदको सजाय गरेको मिलेन, न्यूनतम सजाय गरिनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीको जिकिरको सम्बन्धमा हेर्दा, विधायिकाले कानून बनाउँदा नै अपराधको प्रकृति र अपराधीको पृष्ठभूमि तथा अवस्था हेरी न्यायिक मनको प्रयोग गरी सजाय गर्न न्यायकर्तालाई सजायको निश्चित हद तोकी स्वविवेकीय अधिकार प्रदान गरेको हुन्छ । तोकिएको सीमाभित्र रही कसुरदार ठहरेका प्रतिवादीहरूलाई के कति सजाय गर्ने भन्ने सम्बन्धमा न्यायकर्तालाई विधायिकाले कानूनद्वारा दिएको अधिकार नै स्वविवेकीय अधिकार हो । न्यायिक वा अर्धन्यायिक अधिकारीले स्वविवेकाधिकारको प्रयोग गर्दा न्यायिक मनको प्रयोगका साथ गर्नुपर्छ । न्यायिक मन न्यायकर्तामा हुनुपर्ने न्यायिक दक्षता मात्र हैन, नैतिक चेतना पनि हो । यसले न्यायिक स्वविवेकलाई उचित र न्यायपूर्ण बनाउन निर्देशित गर्दछ । यसले उचित अनुचित, ठीक बेठीकको अन्तरलाई दृष्टिगत गरी सही ढंगले कानूनको पालना, प्रयोग र प्रचलन गर्न पनि अभिप्रेरित गर्दछ, गरिनु पर्दछ । कसुरदार ठहर गर्दा मात्र हैन, सजाय निर्धारण गर्दासमेत न्यायकर्ताले न्यायिक मनको प्रयोग न्यायोचितरूपमा गर्नुपर्छ । ऐनले दिएको तजबिजी अधिकारको प्रयोग गर्दा कसुरदारहरू पटके अपराधी भए नभएको, संगठित आपराधिक समूहमा रहे नरहेको, नाबालक वा वृद्ध वा असक्त आदिलाई प्रयोग गरे नगरेकोसमेतका अपराध गर्दाको अवस्थामा प्रयोग भएका साधन, प्रक्रिया र पद्धतिका अतिरिक्त दशीको प्रकृति मात्रासमेतलाई मध्यनजर राख्नु पर्ने हुन्छ । 

५. प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीउपर निजले घरको ढोका ढुंगाले फोरी जबरजस्ती भित्र पसी पीडितको चुल्ठोमा समाती पीडितलाई घरभन्दा १५० मिटर तल जंगलमा लगी मुख थुनी जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरी दरखास्त परेको र सोहीअनुरूप रहेको अदालतको बकपत्र, पीडितको श्रीमान्‌  .............., छोरी  .............., छोरा  .............. लगायतका व्यक्तिहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज र अदालतसमक्ष गरेको बकपत्र, पीडितको शरीरमा घाउ चोटपटक रहेको र लुगा च्यातिएको भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदन, मौकामा बुझिएका धनबहादुर कार्कीसमेतको मौकाको भनाइ तथा अदालतमा भएको बकपत्र एवं घटनास्थल मुचुल्कासमेतबाट यी पुनरावेदकउपरको अभियोग दाबी पुष्टि भएको अवस्था छ । यसर्थ प्रकरण २५ मा विवेचित आधार प्रमाणबाट जाहेरवालीसँग २०६६ सालदेखि करणी लिनुदिनु भएको र प्रस्तुत वारदातमा समेत सहमतिबाट करणी भएको भन्ने निजको बयान जिकिर पुष्टि नभएको र प्रस्तुत वारदातभन्दा अगाडि पनि प्रमिला भण्डारीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी यिनै पुनरावेदक भएको जबरजस्ती करणी उद्योग मुद्दामा अदालतले लागेको फैसलाले लागेको ३ वर्षको कैद सजाय भुक्तान गरिसकेको भनी निज प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयानको जवाफ १७ मा उल्लेख भएको देखिएको र सुरू फैसलामा समेत सो बेहोरा उल्लेख भएको देखिएबाट यी प्रतिवादीको विगतको आचरणसमेत खराब रहेको भन्ने देखिन्छ । जबरजस्ती करणी समाज विरूद्धको जघन्य एवं गम्भीर अपराध मानिन्छ । यसप्रकार रातको समयमा जाहेरवालीको घरमा गई बन्द ढोका फोरी जबरजस्ती पीडितको घरभित्र प्रवेश गरी आफ्नै भाइबुहारी नाताकी स्वास्नी मानिस (पीडित) लाई जबरजस्ती तानी जङ्गलमा लगी क्रूर प्रकारले जबरजस्ती करणी गरेको पुष्टि हुन आएको अवस्था हुँदा निजलाई न्यूनतम सजाय हुनुपर्ने भन्ने यी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर युक्तिसङ्गत देखिन नआएकोले निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

६. अतः उपर्युक्त विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी भीमबहादुर नेपालीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ७ वर्ष कैद र हाडनाता करणी गर्नेको महलको २ नं. बमोजिम थप ६ वर्ष कैद हुने तथा प्रतिवादीबाट पीडितलाई जबरजस्ती करणीको महलको १०ग. नं. बमोजिम रू.१०,०००।- (दश हजार) क्षतिपूर्ति भराउने गरी सुरू अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत धनकुटाबाट मिति २०७०/९/८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर  पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नु होला । 

तपसिल

प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी प्रतिवादी भीमबहादुर नेपालीलाई दिनू ।

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गर्नू ।

नक्कल माग्ने सरोकारवालाहरूलाई नियमानुसार नक्कल दिनू ।

सुरू तथा प्रमाण मिसिल तत् तत् अदालतमा पठाई रेकर्ड मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. हरिकृष्ण कार्की 

 

इजलास अधिकृत :विष्णुप्रसाद आचार्य 

इति संवत् २०७५ साल जेठ ९ गते रोज ४ शुभम् ।

 


Comments

Popular posts from this blog

Final Note of Jurisprudence for All

२९ ‌‍‍‍‍‌‌‌औँ अधिवक्ता तहकोलागि निर्धारित नजिरहरु नि‍र्णय न. १०२४६

Negotiable Instruments Act, 2034 (1977)